२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


बीर अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि सञ्चालन हुने


1.001k
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बीर अस्पतालमा साउनदेखि ओपीडी सेवा बिहान ८ बजेबाट सञ्चालन हुने भएको छ ।

न्याम्सको परिषद् बैठकले १ साउनदेखि ओपीडी सेवा बिहान ८ बजेदेखि गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अबदेखि अस्पतालको समय बिहान ८ देखि ४ बजेसम्म कायम गरिएको छ । हाल, बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले बिरामी बिहान चाँडै आउने र बढी भीडभाड हुने भएकाले ओपीडीलगायतका अन्य सेवा सहज बनाउन समय तालिका छिट्टै बनाइएको बताउनुभयो ।

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा अस्पतालका कर्मचारी र बिरामी आउने क्रममा सवारी जाममा पर्ने समस्या देखिएकाले समय तालिका परिवर्तन गरी सेवालाई सहज बनाउन खोजिएको उहाँको भनाई छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा बिहान ८ देखि बेलुका ८ सम्म ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख गरिएको थियो । तर, यो विषयलाई बजेटले भने समेट्न सकेको थिएन ।

बीरमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।