
बारा, भदौ २२ । पथलैया–वीरगन्ज ६ लेन सडक निर्माणको काम निर्धारित समयभित्रै सम्पन्न नहुने भएको छ ।
सडक विस्तारका लागि सडक विभागले ३० महिनाको समयसीमा तोके पनि बस्ती, वन, बजार र ठेकेदारको लापरवाहीका कारण सडक निर्माणको काम ढिला हुने भएको पथलैया–वीरगन्ज व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ । ३ अर्ब २७ करोडको लागतमा पथलैयादेखि वीरगन्जसम्मको २७ किलोमिटरको सडक निर्माण गर्न ६ वटा कम्पनीलाई जिम्मा दिइएको थियो ।
२०७५ साल पुस २८ गतेसम्म सडक विस्तारको काम सम्पन्न गर्नुपर्ने भए पनि ६ महिना लम्बिने सम्भावना रहेको विभागले जनाएको छ । व्यापारिक मार्ग निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले समयमा काम नगर्दा ढिलाइ भएको हो ।
हाल निर्माण कार्यको जिम्मा पाएका केही कम्पनीले राम्रो काम गरे पनि अन्य कम्पनीले काममा ढिलाइ गरेका कारण र योजनाले समयमा साइड खाली गराउन नसकेकाले समयमा काम पूरा नभएको व्यापारिक मार्ग विस्तार योजनाले जनाएको छ ।
लगभग ४० प्रतिशत काममात्रै सम्पन्न भएको यो योजनाभित्र पर्ने जितपुर बजार र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने ११ सय मिटरको क्षेत्र खाली गराउन नसक्दा पनि काम प्रभावित भएको कार्यालयका इन्जिनियर शौम्या आनन्दको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्