Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


प्रकाशराज पाण्डेले युरोपकै सर्वोच्च शिखर एलब्रसको चुचुरोमा फहराए नेपालको झण्डा


2.8k
Shares

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर एलब्रस हिमालकोे सफलता पूर्वक आरोहण गरेका छन् ।

यही जुन २८ र २९ तारिखमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ किर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रुसतर्फ प्रस्थान गरेका थिए । एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो ।

रुसको दक्षिणी भेगमा ककेसश हिमश्रृंखलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो ।चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए । जुन २९ तारिख अर्थात असार १४ गते बिहिबार बिहान ९ बजे पाण्डेले एलब्रस ईस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरुको आरोहणलाई विशेष मानिन्छ जसलाई सेभेन समिट भनिन्छ । पर्वतारोहणमा रहेका हजारौं आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले ईमेज खबरसँग बताए ।

यसअघि पाण्डेले सगरमाथा सहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् । सन् २०१६ देखि आरोहण शुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए । नेपाल स्काउटका सदस्य समेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक दुइपटक आरोहण गरिसकेका छन भने विदेशी स्काउटहरुलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् । रामेछाप स्थायी बसोबास भएका पाण्डे हाल ललितपुरको महालक्ष्मी नगरपालिकाका बासिन्दा हुन् ।