
काठमाडौं । आफन्त लिन र पुर्याउन जाने नाममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हातामा थामिनसक्नु भीड बढेपछि नियन्त्रण गर्न थालिएको सरकारी प्रयासले सार्थक रुप लिएको छ ।
विमानस्थलको सुरक्षा, ट्राफिक व्यवस्थापनमै गम्भीर अवस्था आएपछि अप्रिय निर्णय लिन बाध्य हुनुपरेको विमानस्थल सुरक्षा समिति बताउँछ । भावनात्मक विषय कानुनभन्दा माथि हुने तर्क गरेपनि अधिकांशले निको नै मानेका छन् । अझ टिकटक र सामाजिक सञ्जालमा विदाईका दृश्य पोष्ट गर्नेहरुका कारण त्यसको दुष्प्रभाव बढ्दै गएको थियो ।
नेपालको कानुन पशुपति जानून भनेर आफन्तको विदाई र स्वागतका लागि तपाई विमानस्थल जाने सुरसारमा हुनुहुन्छ भन्ने आफ्नो हठ अहिले त्याग्नुस् । विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले तीनजना बढी स्वागत विदाईका लागि आउनेलाई विमानस्थलतर्फ लाग्ने सिनामंगलको मूलगेटबाटै फर्काइ दिनेछन् । त्यहाँ तपाईंको कुनै अनुनयविनय काम लाग्ने छैन । सयलाई विदा गर्न हजारौंको चाप विमानस्थल व्यवस्थापनले धान्न नसकेपछि यो नियम बसाइएको हो । त्यतिमात्र हैन विदेश जाने आउनेलाई स्वागत र विदाईमा जानेहरुको भीड देखाएर सामाजिक सञ्जालमा अनेकानेक नकारात्मक टिकाटिप्पणी हुने र त्यसले सदनदेखि सडकसम्म प्रभावित पार्न थालेपछि सरोकारवाला निकायहरु सचेत बनेका हुन ।

यसैको परिणाम नियम लगाएको एक हप्ता नवित्दै जोकसैले आकासपातालको परिवर्तन अनुभव गर्नसक्छ । आन्तरिक र अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन वा प्रस्थान कक्ष एक यात्रुका लागि बढीमा ३ जना जाने पाउने व्यवस्थालाई प्रहरीले कडाईसाथ लागू गरेको छ । यसबाट धेरैले राहत महसूस गरेका छन् । आफन्तलाई लिन र बिदाई गर्न विमानस्थल पुगेकाहरुपनि यो नियमले भीडभाड झेल्नु नपर्दा सहज भएको बताउँछन् ।

विदाईको क्षण भावनात्मक हुने र त्यसलाई सुरक्षासंग जोडेर हेर्न नमिल्ने तर्क गर्नेहरुको पनि कमी छैन । घरपरिवार, आफन्त, साथीभाइ छोडेर विदेशिने त्यो माहोल सबैका लागि सहज बन्नुपर्ने धारणा उनीहरुको छ ।
यो नियमले फूलमाला, खादामा गरिने अनावश्यक खर्च मात्र घटेको छैन, विमानस्थल जाने र फर्किने भन्नासाथ ट्याक्सी चालकले गर्ने अस्वाभाविक मोलतोलबाट धेरैलाई जोगाउने काम भएको निर्णयका पक्षधर बताउँछन् । विमानस्थलजस्तो संवेदनशील हातामा यहाँबाहेक विश्वमा कहीँ नदेखिने जात्राबाट मुक्ति दिलाउन भएको यो प्रयास आफैंमा सहृानीय छ ।
प्रतिक्रिया दिनुहोस्