Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


वाइडबडी विमान खरिदमा अर्बाैं भ्रष्टाचार भएको भन्दै छानबिन माग


0
Shares

काठमाडौं, भदौ २१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमले दुईओटा वाइडबडी विमान खरिद गर्दा अर्बाैं रुपैयाँ भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले वाइडबडी विमान खरिदको छानबिन गर्न र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरे ।

पछिल्ला दिनमा भ्रष्टाचारसँगै हत्या, हिंसाका घटना पनि बढिरहेको र सरकार त्यस्ता घटना नियन्त्रण गर्न असफल भएको उनको आरोप थियो ।

यस्तै, कांग्रेस सांसद मीन विश्वकर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै तत्काल फिर्ता लिन माग गरे ।

अर्का कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सैन्य अभ्यास गर्ने सहमति भएकामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले ढाँटेको आरोप लगाए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद राजेन्द्र गौतमले स्वास्थ्य मन्त्रालयमा साना तहदेखिकै सरुवामा रकमको चलखेल भएको भन्दै तत्काल छानबिन गरेर कारबाही गर्न माग गरे ।

सांसदहरुले कन्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता नलगाइएको भन्दै आपत्ति जनाएका थिए ।