
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सिमित बन्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताउनुभयो ।
कोईरालाले कांग्रेसले सिद्धान्तहरुलाई छोड्दै जानु चिन्तको विषय भएको बताउनुभयो । उहाँले कसैले पनि लोकरिजाँईको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने बताउनुभयो । नेता कोईरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महशुस आफूले गरेको पनि बताउनुभयो ।
नेता कोईरालाले अहिले कुनैपनि संवैधानिक संस्थाहरुमा सवल बन्न नसकेको जिकिर गर्दै संसदको समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । उहाँले संसदमा प्रधानमन्त्री बोलेपछि संसद रोकिनु, प्रधानमन्त्री बोले लगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरित भएको बताउनुभयो ।
नेता कोईरालाले राजनीति देशमा कुनैपनि ठाउँमा राम्रो नरहेको दाबी गर्नुभयो । उहाँले सरकारले संवैधानिक निकायहरु निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,मानव अधिकार आयोग लगायतका निकायहरुको अधिकार कटौति गर्दासमेत सांसदहरु मौन बसेको बताउनुभयो । नेता कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभयो । उहाँले अदालतका निर्णयहरु सरकारले नमान्ने जस्ता दण्डहीनताका कामहरु गरिरहेको बताउनुभयो । उहाँले देश भूराजनीतिक भुमरिमा फस्दै गएको बताउनुभयो ।
नेता कोईरालाले लोकप्रियताको नाममा लोकरिजाँईको राजनीत हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्