Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


आशा जगाउँदै आविष्कार केन्द्र


2k
Shares

चम्पादेवीमा हाइकिङ गर्दा ललितपुर ग्वार्कोका मिलन बोहराले प्लास्टिकका थुप्रै रित्ता बोतल फ्याँकिएको अवस्थामा भेटे। साथीभाइको सहयोगमा ती बोतल जम्मा गरेर उनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा ल्याए। उनले त्यसलाई धुलो पारेर डन्डी अनि बेन्च बनाए।

अनि त्यो बेन्च त्यहि बाटोमा लगेर थपक्क राखिदिए, जहाँबाट उनले फोहोर उठाएका थिए। ‘जसले रित्ता बोतल फ्याँकेका थिए, सम्भवतः तिनै साथीहरू पनि त्यही बेन्चमा आराम गर्दै हुनुहुन्छ होला,’ उनले मुस्कुराउँदै भने, ‘प्लास्टिक हाम्रो शत्रु मात्र होइन, मिलाएर व्यवस्थापन गरे मित्र पनि हो।’

यति बेला बोहरा आफ्ना साथी शशीकिरण थापा र निश्चल महर्जनसँग मिलेर कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानमा व्यस्त छन्। वातावरणका हिसाबले सहरको मात्र होइन, संसारकै सबभन्दा ठुलो समस्या मानिएको प्लास्टिकलाई कसरी सदुपयोग गर्ने भन्ने उनीहरूको मुख्य योजना छ।

‘अहिलेसम्म हामीले फ्याँकिएका प्लास्टिकबाट ३०० गमला, २७ बेन्च र ५० वटा प्लाई बनाएर बिक्री गरिसकेका छौं,’ उनले भने, ‘अब प्लास्टिकबाट कम्पोस्ट बनाउने योजनामा छौं।’ उनीहरूले फ्याँकिएका प्लास्टिकबाट बनाएका गमलाले अहिले धेरैको ध्यान तानेको छ। ‘फोहोरको थुप्रोबाट बनाएको गमलामा फूल फक्रँदा मन निकै खुसी हुन्छ,’ उनले भने, ‘आविष्कार केन्द्रले हामीजस्तालाई यस्तै फूलहरू फुलाउने अवसर दिएको छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।