
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई समितिमा बिहीबार पहिलो सुनुवाई भएको छ ।
बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सुनुवाई भएको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षता बसेको बैठकमा कार्कीले २० पृष्ठ लामो न्यायालय सुधार योजना पेश गर्नुभएको थियो ।
त्यस क्रममा उहाँले न्यायाधीश हुने ईच्छा नहुँदा नहुँदै पनि न्यायाधीश बनेको भन्दै अहिलेसम्म ईमान जोगाएको दाबी गर्नुभएको थियो । न्यायालयमा ६० प्रतिशत विचलन रोक्न सफल भएको दाबी समेत गर्दै उहाँले गोला प्रथा लागू भएपछि न्यायालयहरुमा न्यायिक विचलन दूर हुदै गएको पाएको बताउनु भएको थियो ।
सुनुवाई शुक्रबार पनि जारी रहने भएको छ । शुक्रबार बिहान ८ बजे बस्ने वैठकमा समितिका सदस्यहरुसँग कार्कीको प्रश्नोत्तर हुनेछ । समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नु हुनेछ । गत बैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्