Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ती


3.6k
Shares

काठमाडौं । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् ।

सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ ।

यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघि नै रुखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।

विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्यमा असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिविना विषादी प्रयोग गरी बिक्री गर्न नपाइने बताउनुहुन्छ ।

बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उहाँको भनाइ छ । ‘यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्ने गरेको जानकारीमा आएको छ”, कार्कीले भन्नुभयो । उहाँले काँचो आँपमा विषादी हालेर बिक्री नगर्न सबैमा आग्रह गर्नुभयो ।

सुनसरीको झुम्कामा रहेको कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्यधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताउनुभयो । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपुर्‍याउने उहाँ बताउनुहुन्छ ।

विराटनगर–२ मा रहेको मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभई केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोग गर्ने गरेका बताउनुहुन्छ । यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उहाँको भनाइ छ ।

कोशी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जिउ चिलाउने, बान्ता हुने जस्ता समस्या देखिने बताउनुभयो ।

विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, बान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताउनुभयो ।