२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


दुई महिनाभित्र काठमाडौंमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने प्राधिकरणको योजना


403
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ ।

प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो ।

प्राधिकरणका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुप्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाएको जनाइएको छ । प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने जनाएको छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना छ ।