Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना


29.7k
Shares

pashupati balachaturdashi

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे।

पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा कार्यरत रहे। तर अधिकांश समय उनले तलब भत्ता बुझेनन्।

टण्डनले शिवस्व लाग्छ भनेर तलबभत्ता नै नबुझेको थाहा पाएपछि तत्कालीन रानी ऐश्वर्य शाहले उनलाई ‘तपाईंलाई अप्ठयारो परेको होला, थोरै भए पनि तलब बु्झ्नुहोस्’भनी आग्रह गरिन्। रानीको आग्रहलाई इन्कार गर्न नसकेपछि उनले मासिक २ हजार रुपैयाँ तलब बुझ्न थाले।

तर त्यसको पनि १० प्रतिशत रकम उनी विकास कोषलाई नै बुझाउँथे। टण्डन २०४४ देखि २०५० तथा २०७० देखि २०७४ सम्म ११ वर्ष २ महिना विकास कोषमा सदस्य सचिव तथा कोषाध्यक्ष भई काम गरेका थिए।

‘मैले पशुपति क्षेत्रमा काम गर्दा लामो समय तलब, भत्ता, सुविधा केही लिइनँ, यहाँसम्म कि पानी र खाजासमेत घरैबाट लगें,’ टण्डनले भने, ‘तत्कालीन महारानी ऐश्वर्यको आग्रहमा महिनाको २ हजार बुझ्न थाले। त्यसको पनि १० प्रतिशत रकम कोषलाई नै बुझाउँथें।’

पशुपतिनाथ मन्दिरको चलअचल सम्पत्ति एक रुपैयाँ पनि हिनामिना गरे शिवस्व लाग्ने टण्डनले बताए। ‘तर पुजारी तथा भण्डारीहरूले इमानदारीपूर्वक लिने तलबभत्तामा भने शिवस्व लाग्दैन,’ उनले भने। टण्डनका अनुसार शिवस्वको विषयमा धार्मिक ग्रन्थहरूमा पनि व्याख्या गरिएको छ।

‘शिवस्व लाग्नु भनेको महापाप हो,’ उनले भने। २०७७ सालमा पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको पुष्टि भएपछि शिवस्वको प्रसंग आएको हो। त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।