
काठमाडौं । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको प्रमुखमा नवीनकुमार घिमिरेलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
परिषदको बुधबार विहान सिंहदरबारमा बसेको बैठकले अख्तियारमा घिमिरेको नाम सिफारिस गरेको हो ।
अख्तियारलगायत संवैधानिक निकायमा रिक्त अन्य पदाधिकारी नियुक्तिको सिफारिसका विषयमा परिषदको बैठक बसेको हो ।
हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् । उनी २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।
अख्तियार गत फागुनदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि कार्यवाहकको भरमा अख्तियार सञ्चालन हुँदै आएको छ । हाल कार्यवाहकको जिम्मेवारी घिमिरेले पाउँदै आएका थिए ।
को हुन् नवीन घिमिरे ?
संवैधानिक परिषदद्वारा अख्तियार प्रमुखमा सिफारिस गरिएका घिमिरे वि.सं. २०१२ साल भदौमा काठमाडौंको सिफलमा जन्मिएका हुन् ।
जनप्रशासनमा स्नातकोत्तर गरेका घिमिरेले लामो समय गृह प्रशासनमा काम गरेका थिए ।
निजामती सेवामा ३५ वर्ष बिताएका घिमिरेले गृहसचिवबाट अवकाश पाएका थिए । त्यसअघि, रक्षा र वन तथा भूसंरक्षण मन्त्रालयको सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए ।
सुरक्षा र प्रशासन क्षेत्रका विज्ञ घिमिरे सक्षम प्रशासककारुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्