Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


‘द केरला स्टोरी’ को अहिलेसम्मको कमाई कति ?


1.7k
Shares

एजेन्सी । ‘फिल्म द केरला स्टोरी’ को कुल कलेक्सन ६८ करोड ८६ लाख भारतीय रुपैयाँ पूरा भएकाे छ ।

फिल्मले छैटौं दिन बुधबार १२ करोड कमाई गरेर शानदार प्रदर्शन गरेको थियाे । भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले जसरी कमाइ गरिरहेको छ, त्यस अनुसार छिट्टै १०० करोड क्लबमा सामेल हुन सक्ने सम्भावना बताइएको छ ।

वैशाख २२ गते (५ मे) बाट फिल्म प्रदर्शनमा आएको थियो । विपुल शाहद्वारा निर्मित फिल्मले पहिलो दिन शुक्रबार ८.०३ करोड, दोस्रो दिन शनिबार ११.२२ करोड, तेस्रो दिन आइतबार १६.४० करोड, चौथो दिन सोमबार १०.०७ करोड, पाँचौं दिन मंगलबार ११.१४ करोड तथा छैटौं दिन बुधबार १२ करोड कमाई गरेको छ ।

फिल्मको पछिल्लो कलेक्शन सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाई रोक्न नसकिने बताएका छन् । फिल्मको बृद्धि दिन प्रतिदिन बढिरहेको छ । फिल्मले ब्लकबस्टरको उपाधि पनि जितेको उनको भनाई छ ।

अर्कोतर्फ, दिग्गज अभिनेता र टीएमसी नेता शत्रुघ्न सिन्हाले फिल्म प्रतिबन्धको निर्णयलाई जायज ठहराएका छन् । उनले आफू वाक स्वतन्त्रताको पक्षमा रहेको तर कुनै फिल्मले समाजको वातावरण बिगार्ने हो भने त्यसलाई रोक्नु जरुरी रहेको बताए ।

करिब ३० करोडको बजेटमा बनेको यो फिल्मले आफ्नो लागत पहिले नै उठाइसकेको छ । अहिले फिल्म नाफाभन्दा माथि पुगेको छ । फिल्ममा प्रतिबन्धको खासै असर नपरेको देखिन्छ ।

यूपी र संसदपछि अब उत्तराखण्ड र हरियाणा सरकारले पनि फिल्मलाई करमुक्त बनाएको छ । जसका कारण आम्दानीमा थप उछाल देखिएको छ ।