१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सुदूरपश्चिम प्रदेशसभा दुई महिनादेखि ठप्प


52
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभा दुई महिनादेखि ठप्प भएकाे छ ।

सरकारले प्रदेशसभालाई आवश्यक बिजनेश नदिंदा जनताका आवाज मुखरित हुने सार्वभौम प्रदेशसभा ठप्प भएको हो । गत फागुन २१ गते मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेपछि अर्को बैठक बस्न सकेको छैन । त्यसयता, स्थगित सुदूरपश्चिम प्रदेशसभाको अर्को बैठक कहिले बस्ने भन्ने बारेमा कुनै टुंगाे छैन ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेशसभाका विषयगत समितिहरूको गठन समेत हुन सकेको छैन । सरकारले बिजनेश नदिंदा प्रदेशसभाको बैठक बस्न नसकेको हो । विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा धेरै विधेयक पारित हुनुपर्ने हो । तर बैठक कहिले बस्ने कुनै टुंगो छैन । प्रदेशसभा बैठकका लागि कुनै बिजनेश नभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनुभयाे ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता ८ वटा बैठकहरु मात्र बसेका छन् । गत पुस १५ गते नवनिर्वाचित सांसदहरुको शपथ भएको थियो । १८ गते पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा सांसदहरूको शुभकामना आदानप्रदानको कार्यसूची मात्रै राखिएको थियो । त्यसपछि तेस्रो बैठक पुस २८ गते सभामुख चयनका लागि निर्वाचन गर्ने उद्देश्यले राखिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएको दुई महिना बितिसकेको छ । तर मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने बारेमा अझै अनिश्चित भएकाे कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले बताउनुभएकाे छ ।

सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकार निकम्मा भएकै कारण प्रदेशसभा बैठक बस्न नसकेको जनाएको छ । जनताको म्यान्डेड लिएर आएका जनप्रतिनिधिले नियमित प्रदेशसभा बैठक बस्न नसक्दा कानून, विधी निर्माण र जनताका मुद्दा उठाउने कुराबाट बञ्चित हुनु परेको गुनासो एमाले प्रदेशसभा सदस्य धर्मराज पाठककाे भनाइ छ ।

सरकार बनाउन र ढाल्नका लागि मात्रै दोश्रो कार्यकालको प्रदेशसभा बैठक ८ पटक बसेको छ । त्यसबाहेक जनताका मुद्दा सम्बोधन हुने किसिमका कुनै विधेयक प्रदेशसभामा पेश हुन सकेका छैनन् । प्रदेश सरकारको औचित्यमाथि नै नागरिकले प्रश्न गर्न थालेका छन् ।