
नवलपुर, भदौ १९ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा कारागार नहुँदा कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा एउटा पनि कारागार नहुँदा यहाँका कैदीबन्दीलाई जोखिम मोलेर चितवनको भरतपुर कारागार पठाइने गरेको छ ।
विभिन्न अपराधका मुद्दा झेलिरहेकाहरुलाई जिल्ला अदालत नवलपुरले कारागार चलान गर्ने आदेश दिने गरेपछि जोखिम मोलेरै भए पनि भरतपुर कारागार पठाउनु परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी लिलाराज लामिछानेले बताए ।
मुलुक संघीयतामा गएपछि साविक नवलपरासी जिल्लामा विभाजन भएर नवलपरासी वर्दघाट सुस्ता पश्चिम र नवलपरासी वर्दघाट सुस्ता पूर्व भए पनि नवलपुरमा भने अहिलेसम्म कारागार बनेको छैन ।
पक्राउ परेकाहरुलाई लामो बाटो चितवनसम्म पुर्याउँदा कैदीबन्दी बाटोबाटै भाग्नेसमेत गरेको गुनासो लामिछानेको छ । जिल्ला नटुक्रिँदासम्म नवलपरासीको परासी कारागारमा पठाइने गरिए पनि हाल भौगोलिक अवस्थाका कारण भरतपुर पठाइने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्