
विनोद सिंह विष्ट
बैतडी, भदौ १९ । पछिल्लो ३ बर्षमा बैतडीस्थित नेपाल –भारत सीमानाका झुलाघाटबाट २ सयभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका ईञ्चार्ज प्रहरी नायव निरीक्षक उमेशकुमार पालले जानकारी दिएका छन् ।
उद्धार गरिएकामध्ये धेरैजसो महिला र बालबालिका छन् । उनले भने, ‘३ बर्षमा २१७ जनाको सीमानाकाबाट उद्धार गरिएको छ ।’
आर्थिक वर्ष २०७२/०७३ मा ६० जनाको उद्धार गरिएको छ । जसमध्ये २३ महिला, २७ बालबालिका छन् । सीमा प्रहरी चौकी झुलाघाटका अनुसार २०७३/०७४मा त्यो संख्या बढेर ७३ पुगेको छ । जसमध्ये २४ महिला र ४० बालबालिका छन् ।
गत आर्थिक बर्ष २०७४/०७५ मा त्यो संख्या बढेर ८५ पुगेको छ । जसमध्ये ७० बालबालिका र १७ महिला छन् ।
विद्यालय उमेर समूहका बालबालिका धेरै
घरमा आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागी विद्यालय उमेर समूहका बालबालिकाका समेत भारत जाने भएकोले तिनीहरुको पनि उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । घरमा आर्थिक अवस्था कमजोर भएकाले स्कुले बालबालिका समेत भारत जाने गरेका प्रहरी नायव निरीक्षक पालले बताए ।
‘विद्यालयको एक महिना बिदामा समेत रोजगारीका लागी भारत पस्छन्,’ उनले भने, ‘चैत÷ वैशाख महिनामा बढीजसो स्कुले बालबालिकाको उद्धार गरिन्छ ।’ उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशोरी बढी छन् ।
विद्यालय उमेर समूहका बालबालिका साथीहरुको लहैलहमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ ।
यस्तै घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए । १२ बर्ष देखि १९ बर्ष सम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृति लिएर भारत जाने गरेका छन् भने कोही भागेर जाने गरेका छन् ।
सीमानाका झुलाघाटबाट उद्धार गरिएको बालबालिका तथा किशोरकिशोरीलाई सम्झाई बुझाई जिल्ला प्रहरी कार्यालयबाट सम्वन्धित अभिभावकको जिम्मा लगाईने गरिएको छ ।
घरबाट भागेर रोजगारीका लागि भनेर बढीजसो कात्तिक र मंसिर महिनामा जाने गरेका छन् । हिउँदको समयमा भारतमा रोजगारी गरेर चैतमा उनीहरु घर फर्किने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । यस्तै, भागेर बिहे गर्ने केटाकेटी भने जतिबेला पनि भारत जाने गरेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्