४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


भागबन्डा किचलोले संसदीय समिति गठन अवरुद्ध

प्रमुख दलहरूबीच संवादहीनताको अवस्था

741
Shares

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ ।

संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भए पनि भागबन्डामा समझदारी हुन नसक्दा समिति गठनमा अवरोध आएको हो ।

संसद्का मुख्य दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच समिति सभापतिको भागबन्डामा सहमति हुन नसक्दा समिति गठन प्रक्रिया नै अवरुद्ध भएको राप्रपाका महामन्त्री धवलशमशेर राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘संसद्मा ठूला भनिएका दलहरूले जहाँ पनि भागबन्डामै अल्मलिएर बर्बाद बनाएका छन् । संसदीय समिति गठनमै अवरुद्ध भएपछि संसद्बाट पास गर्नुपर्ने सबै खालका कानुनहरू ल्याउन नसक्ने अवस्था आउँछ । यसले हाम्रो लोकतन्त्रलाई धरासायी बनाउँदै लैजान्छ । तैपनि दलहरू अहिले समितिको सभापति लेनदेनको विषयमा अल्झिएका छन् ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।