२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भालुवाङ स्वास्थ्य चौकीलाई प्रदेश सरकारकाे मातहतमा ल्याउने


52
Shares

काठमाडाैं । दाङको भालुवाङ स्वास्थ्य चौकीलाई ५० शैयामा स्तरोन्नती गरी लुम्बिनी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढाइएको छ ।

भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको हो । लुम्बिनी प्रदेश मातहत ल्याउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको छ ।

भालुवाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी प्रदेश सरकार मातहत लैजाने निर्णय छिट्टै हुने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री इन्द्रजित थारुले बताउनुभयो । लु्म्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र तत्कालीन स्वास्थ्य मन्त्री थारुको पालामा राप्ती गाउँपालिकाको भालुवाङमा ५० शैयाको प्रादेशिक अस्पताल खोल्ने निर्णय भएको थियो ।

अस्पताल बनाउन भन्दै लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १ करोड बजेट समेत विनियोजन गरेको थियो । भालुवाङ स्वास्थ्य चौकीको नाम परिवर्तन गरी लालमटिया स्वास्थ्य चौकी राख्ने र त्यसलाई ५० शैयाको अस्पतालमा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउन सकारात्मक पहल भइरहेको मन्त्री थारुले बताउनुभयो ।

राप्ती गाउँपालिका सहितको भूगोल समेटेर लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाइएको छ । तर सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयवासीलाई उपचारका लागि नेपालगञ्ज, बुटवल, काठमाडौं वा भारत जानुपर्ने बाध्यता रहेकाे छ ।