Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


वायु प्रदुषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ


130
Shares

काठमाडाैं। काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचिको पहिलो स्थानमा राखेको हो । शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ । वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।

पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदुषित शहरमा पहिलो नम्बरमा परेको बताउनु भयो । उहाँले प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताउनु भयो ।

विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदुषण बढेको बताउनु भयो । आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएपनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताउनु भयो । उहाँले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा रहेको उल्लेख गर्नुभयो।

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदुषणबाट बच्नका लागि सरकारले आम नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताउनु भयो । वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने बताउनु भयो ।