Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔं’


130
Shares

काठमाडौं । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔं’अभियान थालेका छन्।

उनीहरूले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन्। बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो। भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे।

पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक विद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाका बालबालिकालाई पनि सामुदायिक विद्यालयमा ल्याउने तयारी उनीहरूको छ। वडाध्यक्ष राजु थापाले पहिला म र हामीबाटै सुरु गरेपछि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउन सकिने धारणा राखे।

उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम भए वडाध्यक्षको नाताले काम गर्ने भन्दै विद्यालयमा विद्यार्थी संख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको धारणा थियो। ‘मैले के काम गर्नुपर्छ गर्छु, तर शिक्षक र जनप्रतिनिधिका छोराछोरी यहीँ पढाऔं,’ थापाले भने, ‘हामीले नै सदरमुकाम वा बोर्डिङमा पठाइयो भने सर्वसाधारणका छोराछोरी के भनेर भर्ना गराउने ?’ वैशाख २ गतेदेखि नै बालबालिका भर्ना अभियान चल्ने भएकाले त्यसअघि आम भेला गरेर अभियान चलाउने घोषणा गरेको उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।