Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


घातक वैजनी रङको तहमा वायु प्रदूषण


65
Shares

काठमाडौं । नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन्। वायु गुणस्तर सूचकांक (एक्युआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो। सोही समयमा वातावरण विभागले राजधानी शहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो।

विपद सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो। वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ।

मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न हितकर ठानिन्छ। वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ ९गाढा रातो० दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।राजधानी शहरमा मात्र होइन, देशका प्रमुख अन्य सहरहरूमा समेत पछिल्ला दिनमा वायु प्रदूषण ह्वात्तै बढेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।