२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सांसदकाे प्रश्न: ‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’


182
Shares

काठमाडौं । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् ।

सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ ।’ सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको ३२ अर्ब रुपैयाँ रोकेको भन्दै उनले पछिल्लो आर्थिक अवस्थाको विषयमा स्पष्ट पार्ने आग्रह गरे ।

‘रेमिट्यान्स धेरै भित्रिनुको अर्थ बगैँचा जस्तो नेपाललाई मरुभूमि बनाउनु हो,’ उनले भने । उनले किसानलाई रासायनिक मल दिनेतर्फ सरकारको ध्यान नगएको आरोप लगाउँदै भने, ‘पर्यटनमन्त्रीले शिवरात्रिको मेलामा घोटाला भएको स्वीकार गर्नुभएको छ, अख्तियार के गर्दै छ ?’ महालेखा नियन्त्रक कार्यालयले २१ चैतमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै कर्मचारीको उपदान, सञ्चित बिदा र औषधि उपचार रकम चालू आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन मार्गदर्शनअनुसार निकासा गर्न भनेको थियो ।

त्यो निकासा नभएकामा सुवालले प्रश्न गरेका हुन् । यसैगरी, प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून भएको विषयदेखि बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, संक्रमणकालीन न्यायको विषयले समेत प्रवेश पायो । बुधबारको विशेष समयमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थित न्यून भएको बताउँदै उनले राष्ट्रिय गौरवका बूढीगण्डकीको बजेट अरू आयोजनाका लागि नपठाउन आग्रह गरे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।