काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।
आज विमानस्थलको अनुगमन गर्दै उहाँले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गर्नुभएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको हेल्पडेस्कलाई प्रभावकारी बनाउन र सम्पूर्ण गतिविधिलाई डिजिटलाइज गर्न जरुरी रहेको बताउनुभयो । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनःसंरचना प्रस्ताव प्रस्तुत गर्नसमेत उहाँले निर्देशन दिनुभएको थियो ।
नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुवैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।
पर्यटकको प्रवेशद्वार आफैंमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने उहाँको धारणा थियो । विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उपप्रधानमन्त्री श्रेष्ठले चेतावनी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्