
-दुर्गा उपाध्याय/ईमेज:
कञ्चनपुर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक महिना बितिसक्दासमेत वास्तविक दोषी पत्ता लागको छैन ।
अर्कोतिर बलात्कारका घटना थपिँदै गएपछि स्थानीयवासीमा झन् असुरक्षित महशुस गर्न थालेका छन् ।
लामो सयमसम्म घटनाको वास्तविकता पत्ता नलागेपछि स्थानीय भने अनुसन्धानप्रति नै सन्तुष्ट छैनन् । जसले प्रहरी प्रशासनलाई चुनौती थपिएको छ ।
कञ्चनपुरमा मात्र यस वर्ष ७ बालिका बलात्कृत भइसकेका छन् भने एक बालकमाथि यौन दुव्र्यवहार भएको छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको विरोधमा स्थानीयको प्रदर्शनका साथै देशव्यापी रुपमा निन्दित भयो ।
घटनाको विश्वसनीय अनुसन्धान गर्न माग गर्दा अर्का एक किशोरले प्रहरीको गोलीबाट ज्यान नै गुमाउनु पर्यो ।
सरकारले विश्वसनीय छानबिन गर्ने प्रतिबद्धता जनाएपछि अहिले आन्दोलन मत्थर भएको छ ।
पन्तको हत्या भएको एक महिना नाघिसक्दा पनि वास्तविक अपराधीसम्म पुग्न अनुसन्धानकर्ताहरु सकेका छैनन् ।
गृहमन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको पनि एक साता बितिसक्यो र जिल्लाका प्रहरी प्रमुख पनि फेरिए तर घटना रहस्यमै छ ।
बरु बलात्कारका घटना थपिँदै छन् । दिनप्रतिदिनका यस्ता आपराधिक घटनाले प्रहरीमाथि नै चुनौती थपेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुवेर कडायत स्वीकार्छन् ।
निर्मला पन्तको अपराधी पत्तो नलाग्दै फेरि कञ्चनपुरमै बेल्डाँडी गाउँपालिकामा गत बिहिबार राती अर्की १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
बलात्कारको आरोपमा प्रहरीले स्थानीय भानबहादुर विष्टलाई नियन्त्रणमा लिएको छ भने अर्का एकजना फरार छन् ।
यस्ता घटनाले बालबालिका मात्र होइन वृद्धवृद्धासमेत साँझ परेपछि घरबाहिर निस्कन डराउन थालेका छन् । कतिपयले त छोरीहरुलाई विद्यायल पठाउन छाडेका छन् ।
स्थानीय भने प्रहरीको अनुसन्धान नै फितलो भएकाले अपराधिको मनोबल बढेको बताउँछन् । एक महिनासम्म अपराधी पत्ता नलगाउँदा उनीहरु आक्रोशित छन् ।
दिनहुँजस्तै भइरहेका यस्ता जघन्य अपराध निरुत्साहित गर्न सुरक्षा निकाय अझ चनाखो हुनु जरुरी छ ।
जबसम्म वास्तविक अपराधीलाई सजाय दिन सकिन्न तबसम्म अरु अपराधीलाई यस्ता कर्ममा लाग्नबाट निरुत्साहित गर्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्