Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


प्रधानमन्त्री दाहाललाई पद गुम्लाकि भन्ने डर रहेको गगनको टिप्पणी


3.8k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्लाकि भन्ने डर रहेको टिप्पणी गर्नु भएको छ ।

मान्छेलाई बढि पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताउनु भएको हो । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाईदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नु भयो ।

उहाँले बालबालिकाहरुलाई डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताउनु भयो । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरुलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताउनु भयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भईसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ । अहिले भईरहेको प्रधानमन्त्रीलाई भोली बिहान अर्को मिलेर मलाई हटाई देलान कि भन्ने डर छ । भनेको जुनसुकै क्षेत्रमा तपाई जानु भयो भने, जुनसुकै ठाउँमा पुगेको भएतापनि मान्छेलाई जति छ, त्यो भन्दा बढि पाउने इच्छा भईरहन्छ ।’

महामन्त्री थापाले बालबालिकाहरुलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरुलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताउनु भयो ।