
एजेन्सी । भारतीय अभिनेता दीपक तिजोरीले निर्माता मोहन नाडरमाथि करोडौं रुपैयाँ ठगीको आरोप लगाएका छन् ।
दीपकले मोहन विरुद्ध मुम्बई प्रहरीमा एफआईआर (मुद्दा) दर्ता गरेका हुन् ।
दीपकले आफूसँग मोहनले २ करोड ६० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । दुवैले सँगै थ्रिलर फिल्म निर्माण गरिरहेका थिए । मोहनले फिल्मको सुटिङको नाममा दीपकसँग पैसा लिएका थिए ।
मुम्बईको अम्बोली प्रहरीले मोहनविरुद्ध आईपीसीको धारा ४२० र ४०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार दीपकले मोहन विरुद्ध प्रहरीमा लिखित उजुरी दिएका हुन् । फिल्मको सुटिङ लोकेशनका लागि मोहनले २ करोड ६० लाख भारतीय रुपैयाँ लिएको तर, फिर्ता गर्न नचाहेको उजुरीमा उल्लेख गरिएको छ ।
उनले मोहनले न फिल्म पूरा गरेको, न त पैसा नै फिर्ता गरेको बताएका छन् । यस मुद्दामा हालसम्म कसैलाई पनि पक्राउ गर्न नसकेको अम्बोली प्रहरी वरिष्ठ अधिकृत बन्दोपन्त बाँसोडेले बताएका छन् । उनले अहिले प्रहरीले अनुसन्धान गरिरहेको र यसको छानबिन छिट्टै गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्