Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


लहडले नेता बनिँदैन : दाहाल


0
Shares

काठमाडौं, भदौ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताएका छन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा शनिबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने–‘कसैलाई रहर लागेर नेता हुनसक्ने होइन । इतिहास र जनताले आन्दोलनकाक्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो । लहडले नेता बनिँदैन ।’

उनले आफूहरुले जनयुद्ध र शान्ति–प्रक्रिया दुवैको नेतृत्व गरेको उल्लेख गर्दै लामो संघर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताए ।

अध्यक्ष दाहालले भने–‘अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत् समाजवादको तयारीमा छौं ।’

पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले सबैलाई बिनापूर्वाग्रह उचित भूमिका दिइने बताए ।

उनले भने–‘पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाइँ नेता तथा कार्यकर्ताप्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।’

नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकुदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौं जिल्ला क्षेत्र नम्बर–२ का माधव लामिछाने र विष्णु तिमल्सेना रहेका छन् ।

उनीहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउनेमात्र कार्य गरेको बताए ।

अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपाबाटमात्र सम्भव देखिएको भन्दै आफूहरु प्रवेश गरेको उनीहरुको भनाइ थियो । रासस

Skip This