Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


पत्रकारमाथि सभामुखको आरोपप्रति संसदमा आपत्ति


312
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा छन्’ भनी दिएको अभिव्यक्ति बारे संसदमा आपत्ति जनाइएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारमाथि आरोप लगाउँदै दिएको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि परेको आघातका बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरेका थिए। उनले भने, ‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातबारे सोचिएको छ कि छैनरु त्यतातिर पनि ध्यान जाओस्।’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै आपत्ति जनाए। यसका लागि छानबिन समिति नै बनाउन उनले सदनलाई आग्रह गरे। ‘पत्रकारहरूबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनुपर्‍यो, कुनकुन हो पीत पत्रकारिता गर्नेरु’ उनले भने, ‘सभामुखबाट उठेको यो विषय सार्वजनिक महत्वको हुन्छ।’

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख घिमिरेले पत्रकारहरूका बारेमा गरेको टिप्पणीप्रति आफूहरूको विमति रहेको बताए। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुखले पत्रकारहरूका विषयमा गरेको टिप्पणीको आलोचना गरे। उनले भने, ‘झापा २ बाट निर्वाचित हुनुभएका नेकपा एमालेका सांसदका रूपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हुन्थ्यो। तर देशको सभामुखले चौथो अंगका सन्दर्भमा बोल्नुभन्दा अगाडि हजारपटक सोच्नुपर्छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।