Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


आफ्नाे समूहमा सामेल व्यक्ति पक्राउ परेकाेप्रति दुर्गा प्रसाईकाे आपत्ति


273
Shares

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजक शम्भु थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको बताउनुभयो । यद्यपी संयोजक थापा पक्राउबाट छुटिसकेका छन् ।

उहाँले अन्य राजनीतिक दलका युवा संगठनहरु भए जस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमाेसो नदलेको भएपनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभयो ।

उहाँले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो ।

उहाँले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गर्नुभयो । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उहाँले बताउनु भयो । उहाँले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताउनुभयो ।

बैंक तथा लघुवित्त बिरुद्धको आफूहरुको आन्दोलन जारी रहेको उहाँले बताउनुभयो । निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गर्ने उहाँले बताउनुभयाे ।