२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्ट आयोजना हुँदै


325
Shares

काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त प्रसिद्ध बाँसुरीवादक अश्विन श्रीनिवासनले ‘नाद रंग–कलर्स अफ साउन्ड’ कन्सर्टमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

जयश्री संगीत समाजले फागुन २८ गतेका दिन आयोजना गर्ने ‘नाद रंग–कलर्स अफ साउन्ड, कन्सर्टमा बाँसुरी लाइभ’ कार्यक्रममा श्रीनिवासनलाई प्रख्यात तबलावादक ओजस अढियाले तबलामा साथ दिनेछन् ।

उनलाई साथ दिने तबला वादक अढिया सबैभन्दा कान्छा तबला वादकका रुपमा ‘द लिम्का बुक अफ रेकर्डस्’ मा दर्ता भएका भारतीय शास्त्रीय संगीत क्षेत्रका सबैभन्दा होनहार मानिने तबला वादक हुन् ।

दुई वर्षको उमेरमा श्रीनिवासनले भारतीय शास्त्रीय सङ्गीत सिक्न सुरु गरेका हुन् । आफ्नी आमाबाट सितार सिक्न थालेका उनले सात बर्षको उमेरमा बाँसुरीतर्फ आकर्षित भए । हाल भारतको मुम्बईका सबैभन्दा व्यस्त बासुरीवादक उनी विश्वका अन्य विभिन्न लोक पवन वाद्य उपकरणहरूका समेत दक्ष संगीतकारका रुपमा चिनिन्छन् ।

कन्सर्ट दाफा म्युजिकका विभिन्न नेवाः र शास्त्रीय बाजाहरू फ्यूज गरिएको सामूहिक प्रस्तुतिबाट कार्यक्रम सुरू हुनेछ । नेपालको सांस्कृतिक परम्परा दाफा संगीतको संरक्षण एवं प्रवर्द्धन गर्दै युवा पुस्ताका सांगीतिक समूहमा हस्तान्तरण गरेर सीमित हुँदै गएको सांगीतिक परम्पराको प्रचार गर्दै ब्यापक बनाउने उद्देश्यले समावेश गरिएको आयोजक समाजका अध्यक्ष लक्ष्मी डंगोलले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाको सहयोग रहेको सो कार्यक्रमबाट संकलन हुने रकम संगीत विद्यार्थीहरूका लागि आवश्यकतानुसार छात्रवृत्ति प्रदान गर्न समर्पित गरिनेछ ।

काठमाडौं महानगरपालिकाका उप–प्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघरमा साँझ ५ बजे कार्यक्रम हुनेछ ।