२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरू


39
Shares

काठमाडाैं । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा यात्रा विधिवत रूपमा सुरु भएको छ ।

गत बिहीबारबाट सुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेकाे छ ।

नेपाल र भारतका गरी १ सय ३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौं श्रद्धालु सहभागी हुन्छन् । परिक्रमामा सहभागी श्रद्धालुहरु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गर्ने भएका छन् । परिक्रमाको डोलालाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले काँध लगाएर विधिवत सुरुवात गर्नुभएको थियो ।

मुख्यमन्त्री यादवले मिथिला मध्यमा परिक्रमाको डोलाको दर्शन गर्न पाउँदा आफूलाई आत्मीय आनन्दको अनुभूति भएको बताउनुभयो । उहाँले आउने दिनमा मधेस सरकार मिथिला बिहारी क्षेत्रलाई मिथिला बिहारी विकास परिषद बनाएर विकास गर्नुका साथै परिक्रमा मार्गलाई सहज र सुविधायुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
परिक्रमाको इतिहास उल्लेख नभएता पनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सह्रानीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमालाई व्यवस्थित पार्नका लागि कचुरी मठका तत्कालीन महन्थ लाल शरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाल र भारतबीचको धार्मिक साँस्कृतिक महत्वलाई मिथिला मध्यमा परिक्रमाले वर्षौंदेखि प्रगाढ बनाउँदै आइरहेको छ । यसलाई व्यवस्थित गर्न सकिए दुवै देशको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास स्थानीयको छ। यसलाई व्यवस्थित पार्नेतर्फ सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ । हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् ।

पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास रहेकाे छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक साँस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेका छन् ।