‘काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सहमतीय राष्ट्रपतिको एजेन्डा अघि सारेपछि दलहरूले उम्मेदवार चयनमा ढिलाइ गरेका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) ले गठबन्धन दलहरूबीचको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबीसहित माओवादीको समर्थन पाउने बताए पनि माओवादी केन्द्रले अहिलेसम्म राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गरेको छैन । भावी राष्ट्रपतिमा संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको ठूलो दल एमालेको दाबी छ ।
राष्ट्रपति चुनावको ‘निर्णायक’ तहमा रहेको माओवादी पछिल्लो समयमा कांग्रेसको पक्षमा खुल्ने तयारीमा रहेको नेताहरूको बुझाइ छ । उक्त दलले राष्ट्रिय सहमतिको अडान कायमै राखेकोले एमालेका उम्मेदवारले राष्ट्रपति पाउने सम्भावना न्यून हुँदै गएको कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभयो । उहाँले राष्ट्रपति कांग्रेसले समर्थन गरेकै व्यक्ति हुने बताउँदै भन्नुभयो–‘राष्ट्रपति संविधानभित्र रहेर लोकतन्त्र र देशको सार्वभौमिकतालाई बचाउने व्यक्ति चाहिन्छ । त्यो एमालेका नेताहरूबाट सम्भव छैन ।
फेरि संविधान र लोकतन्त्रमाथि ‘कु’ हुन सक्छ । त्यसैमा गठबन्धन दलहरूबीच विवाद छ । माओवादी, नेकपा (एकीकृत समाजवादी) , जसपा लगायतका दलहरूको सहमतिमा कांग्रेसको उम्मेदवार राष्ट्रपति हुन्छ ।’ यद्यपि, उहाँले कांग्रेसले उम्मेदवारको निर्णय गरिनसकेको बताउनुभयो । राष्ट्रपति बन्नका लागि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाको नाम चर्चामा छ । यीभन्दा बाहेकका उम्मेदवार समेत हुनसक्ने नेताहरूले बताएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्