
काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्बन्धमा पार्टी पदाधिकारीबाट निर्णय गर्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। नयाँ राष्ट्रपतिका विषयमा आधिकारिक निर्णय लिन माओवादी केन्द्रले सोमबार दिउँसो ४ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठकअघि आइतबार साँझ प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासहित पाँच शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका हुन्।
देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए। प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नुअघि सभापति देउवा निवासमा पौडेल, खड्का र सिटौलाबीच छलफल भएको थियो। उपत्यकाबाहिर रहेका उपसभापति खड्का सोमबार काठमाडौं आउने कार्यक्रम रहे पनि देउवाले आइतबार नै बोलाएका हुन्।
दाहालसँगको भेटमा कांग्रेसले पुरानो गठबन्धनलाई निरन्तरता दिनेगरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न प्रस्ताव राखेका थिए। कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको बताउँदै नेताहरूले यसमा माओवादीको समर्थन र सहयोग खोजेको धारणा राखेका थिए। प्रधानमन्त्री दाहालले कांग्रेस प्रस्तावमा आफू सकारात्मक रहेको जनाउँदै सोमबार बस्ने पदाधिकारी बैठकमा छलफलका लागि उक्त विषय राख्ने आश्वासन दिएका छन्। पदाधिकारी बैठकबाट राष्ट्रपतिका विषयमा निर्णयमा पुग्ने आश्वासन कांग्रेस नेताहरूलाई दिएको स्रोतको दाबी छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्