
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षसम्मै आफू प्रधानमन्त्री भइरहने रणनीति अन्तर्गत नयाँ राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्नुपर्ने अवधारणा अघि सारेर सत्ता साझेदार नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग ‘बार्गेनिङ’ गरिरहेका छन्। दाहालको यो रणनीतिले सत्ता साझेदार एमाले झस्किएको छ। दाहालले दुई दलीय सहमतिभन्दा बाहिर गएर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणा अघि सारेपछि एमाले सशंकित बनेको छ। दाहाल सहमतिविपरीत जान खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन्।
गत पुस १० गते नेकपा माओवादी र एमालेबीच प्रधानमन्त्री र सभामुख पालैपालो हुने र राष्ट्रपति एमालेले पाउने सहमति भएको दाबी गरिएको छ। सोही सहमतिअनुसार दाहाल पहिलो अढाई वर्षका लागि प्रधानमन्त्री भएकाले राष्ट्रपति एमालेले अघि सार्ने उम्मेदवार हुनुपर्ने अडानमा एमाले छ। प्रधानमन्त्री दाहालले भने आफूलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अवधारणा अघि सार्दै आएका छन्। स्रोतका अनुसार दाहालले पाँच वर्षसम्म आफू नै प्रधानमन्त्री हुन राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अवधारणा अघि सारेर एमाले र कांग्रेससँग समानान्तर छलफल गरिरहेका छन्। अहिलेको अवस्थामा माओवादीले जसलाई समर्थन गर्छ उही राष्ट्रपति हुन्छ। यसैको फाइदा उठाएर दाहाल पाँच वर्षसम्म प्रधानमन्त्री बन्न चाहन्छन्।
एमाले अध्यक्ष ओलीले पुस १० गतेको सहमतिअनुसार चल्नुपर्ने अडान राखेपछि उनलाई दबाब दिन दाहालले सर्वदलीय बैठक डाक्ने तयारी गरेका छन्। आफ्नो चाहना परिपूर्तिका लागि अनुकूल वातावरण बनाउन दाहालले सर्वदलीय बैठकको तयारी गरेका हुन्। प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘सर्वदलीय बैठक बोलाउने योजना उहाँको छ।’ एमाले जसरी पनि आफ्नो उम्मेदवार राष्ट्रपति हुनुपर्ने अडानमा छ।एमालेको अडान पूरा हुन नदिन प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको कांग्रेस वर्तमान सत्ता गठबन्धन भत्काएर चुनावअघिको गठबन्धन पुनर्जिवित गर्न चाहन्छ। कांग्रेस र एमालेको आआफ्नै स्वार्थमा खेलेर दाहाल पाँच वर्षसम्म आफू प्रधानमन्त्री हुने वातावरण बनाउन प्रयासरत रहेको स्रोत बताउँछ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।









प्रतिक्रिया दिनुहोस्