Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


हुम्लाका २६ कार्यालय प्रमुखविहीन


91
Shares

हुम्ला । हुम्लामा अधिकांश सरकारी कार्यालय प्रमुखविहीन रहेको पाइएको छ । हिउँदयाम हुम्लामा स्थानीय तह, संघ र प्रदेशका कार्यालयमा कार्यालय प्रमुख नै जिल्ला बाहिर बसेका छन् ।

सेवाकालीन तथा अन्य तालिम तथा गोष्ठी, माथिल्लो तहको परीक्षा र घरायसी काम विशेष कारण देखाउँदै कार्यालय प्रमुखहरू जिल्ला बाहिर गएपछि सरकारी कार्यालय प्रमुखविहीन भएका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अमृतकुमार सुवेदीले जिल्लामा स्थानीय तहका कार्यालयबाहेक ३८ वटा कार्यालय रहेको बताउनुभयो । तर, अहिले १२ वटा कार्यालयमा प्रमुख रहेको तथा बाँकी २६ वटा कार्यालय प्रमुख जिल्ला बाहिर गएको उहाँले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख नभएर निमित्तका भरमा सञ्चालन हुँदै आएका कार्यालयमा स्वास्थ्य सेवा कार्यालय, सरकारी वकिल कार्यालय, परियोजना कार्यान्वयन एकाइ, स्याउ जोन, कोष तथा लेखा नियन्त्रण कार्यालय, खानेपानी, जिल्ला निर्वाचन, नापी, डिभिजन वन, प्रदेश लेखा एकाइ, सामाजिक विकास कार्यालय छन् ।

अन्य कार्यालय प्रमुख नभएका कार्यालयमा अध्यागमन, यारी नाका भन्सार, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा, हिल्सा सिमकोट सडक आयोजना, नेपाल टेलिकम, नागरिक उड्डयन प्राधिकरण, हुुलाक, जिल्ला प्रशासन, हुम्ला जिल्ला अदालत, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म, आयुर्वेद स्वास्थ्य केन्द्र छन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।