Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बजारमा घट्यो भारुको मूल्य !


1.1k
Shares

धनगढी । केही महिना अघिसम्म भारतीय रूपैयाँ साट्न २ देखि ४ रूपैयाँसम्म यहाँका स्थानीय र व्यापारीहरूले तिर्नुपथ्र्यो । हिजोआज भने तिनै स्थानीय र व्यापारीले १ सय दरको भारतीय रूपैयाँ ५ देखि १० रूपैयाँ सस्तोमा कारोबार गरिरहेका छन् । एकाएक अनौपचारिक कारोबारमा भारतीय रूपैयाँको मूल्य सस्तिएपछि सुदूरपश्चिमको बजारमा हलचल मच्चिएको छ ।

आफूले बजारमा सामान किन्दा १० रूपैयाँ घाटा खाएर एक सय भारतीय रूपैयाँलाई एक सय ५० मा कारोबार गरेको धनगढीका मनोज जोशीले बताए । उनले भने, ‘किराना पसलमा खाद्यान्न किन्दा भारतीय रूपैयाँ ५ सय दिँदा त्यसको मूल्य ७ सय ५० रूपैयाँ मात्र उपलब्ध गराउन व्यापारीले माने । जबकी भारतीय ५ सय रूपैयाँको ८ सय रूपैयाँ हुन्छ।’ केही वर्ष अघिसम्म उपचार गर्न तथा अन्य कामले भारत जाँदा तिनै नेपाली व्यापारीहरूले भारतीय रूपैयाँ साट्न ४ रूपैयाँसम्म लिएको उनले बताए ।

उद्योग वाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले १५/२० दिन यता सुदूरपश्चिमको बजारमा भारतीय रूपैयाँको कारोबार माइनसमा हुन थालेको बताए । उनले भने, ‘अहिले बजारमा एक सय भारतीय रूपैयाँको कारोबार गर्दा नेपाली रूपैयाँ १५० देखि १५५ मा मात्र साटिन थालिएको छ।’ नेपाली र भारतीय मुद्राबीच दशकौंदेखि विनिमय दर स्थिर रहँदै आएको छ।

नेपालमा १ सय भारतीय रूपैयाँको १६० नेपाली रूपैयाँ तिर्नुपर्छ। नेपाल राष्ट्र बैंकमा १ सय रूपैयाँका नोट मात्र कारोबार हुने गरे पनि बजारमा १ सय रूपैयाँ भन्दा ठूला नोट पनि अनौपचारिक रूपमा कारोबार हुँदै आएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।