१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सरकारले शिक्षामा व्यापार गरिरहेकाे पूर्वप्रधानन्यायाधीश कार्कीकाे आरोप


65
Shares

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रबार बिहान डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले शिक्षा र स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको बताउनुभयो ।

उहाँले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो । आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय आमाबुबा रोएको देख्छु, पढाउने इच्छा छ, डाक्टर बनाउने इच्छा छ । डाक्टर बनाउने, इन्जिनियर बनाउने इच्छा राखेका छन् । बुबा-आमालाई पनि पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ । तर हैसियत छैन । जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन् । पढाइका अगाडि घर, जग्गा केही होइनन् । आफ्ना घरका सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पत्ती हो । छोराछोरीले कमाएर खाएको घर नै उज्यालो र राम्रो हुन्छ । स्कलरसिप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । शिक्षा व्यापार भएको छ । पहिला त्यस्तो थिएन । पहिला गरिबका बच्चाले पनि चाहँदा पढ्न सक्थ्यो । गरीबका छोराछोरी पनि डाक्टर बन्न सक्थ्यो । अब अहिले पैसा नभइ केही पनि हुँदैन । आर्यघाटमा जल्न त महँगो भइसक्यो । कसले डोनेसन देला र दाहसंस्कार होला, कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुनजेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताउनुभयो । उहाँले नागरिकलाई गास, बास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको बताउनुभयाे । राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको उहाँले बताउनुभयो ।

सरकारमा बस्नै सबै व्यापारीहरु रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।