Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


थोत्रो मोटरसाइकल चलाउँदा कारगेड दुर्घटना


0
Shares

काठमाडौं, भदौ १४ । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

‘बाटो सहज अवस्थामा थियो, मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको सुरक्षामा खटिएकाले अनुभवी नै हुन् तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्‍यो । यसलाई हामीले दुःख मानेका छौं । अन्तिममा दोष प्रहरीलाई नै आउँछ,’ नेपाल प्रहरी प्रशासन विभाग अन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।

बुधबार बिहान स्कर्टिङका क्रममा कालिमाटीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार दिनेश श्रेष्ठ घाइते भएका थिए । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । –नागरिक दैनिकबाट