२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्न हुँदैन : अध्यक्ष राउत


117
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राष्ट्रिय पशुपंक्षी अनुसन्धान केन्द्र सप्तरीबाट सार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आफ्नो गृह जिल्लामा केन्द्र सार्न लागेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले मन्त्री फेरिएपिच्छे संस्थाहरु सारिँदा विकास निर्माणले गति नलिने बताउनुभयो । उहाँले सरकार संसदप्रति उत्तरदायी छ की छैन भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले संसदमा सांसदहरुले उठाएका कुराहरु टिपेर त्यसबारेमा के कति कामहरु भइरहेका छन् भन्नेबारेमा सरकारले संयन्त्र निर्माण गरेर जानकारी नगराउने हो भने सांसदहरुले संसदमा बोलिरहनुको अर्थ नरहेको बताउनुभयो ।

सरकारले मल ल्याउँदा पनि कालोबजारीका कारण किसानले समयमै मल नपाइरहेको भन्दै सरकारले कालोबजारीमा नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद राउतले नागरिकता प्रदान गर्ने प्रतिवद्धतामा सरकार कुन चरणमा छ भन्दै प्रश्न गर्नुभयो ।