Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


साढे ७८ लाख रुपैयाँसहित दुई हुन्डी कारोबारी पक्राउ


273
Shares

काठमाडौं । साढे ७८ लाख रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका–९ घर भई हाल विजुली बजार बस्‍ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका–१० घर भई हाल विजुलीबजार १० बस्‍ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएकाे प्रहरी टोलीले काठमाडौं न्‍यूरोड एरियाबाट पक्राउ गरेको हो।

उनीहरुले दैनिक एक करोड बढीको रकम कारोबार गर्ने गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अधिकारी प्रहरी उपरिक्षक एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयाे ।

उनीहरुको साथबाट प्रहरीले नेपाली नगद ७८ लाख ५० हजार, ४ लाखको चेक एक थान र संकलित रकम व्‍यवस्थापन गरेको भौचर तथा कारोबार विवरणहरु भएको मोबाइल बरामद गरेको छ ।

मल्लले विगत ५ वर्षदेखि र चौधरीले विगत ४ महिनादेखि न्‍युरोड क्षेत्रमा विभिन्न व्‍यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।