Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


त्यो बेला ठूलो क्रान्तिकारी भइयो, अहिले त्यसैले दुःख पाइ’या छ : दाहाल


0
Shares

राजु चौधरी (इमेज)

चितवन, भदौ १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारी कर्मचारीतन्त्रमा देखिएको घुसखोरीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा आयोजित निर्माण व्यवसायी संघ चितवनको २५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राज्यका कर्मचारीहरुमा पाइलेपिच्छे बेतिथि रहेको भन्दै यसको अन्त्य आवश्यक रहेको उल्लेख गरे ।

त्यस्ता बेतिथिलाई अन्त्य गर्दै राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।

सरकारी कर्मचारी र ठूला ठेकेदारहरुबीच ‘सिन्डिकेट’ रहेको दाबी गर्दै उनले त्यसलाई तोड्न सरकार लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ठेकेदारलाई ‘प्याकेज’मा दिने ठेक्कापट्टाले नै घुसखोरी मौलाएको जिकिर गरे ।

‘प्रधानमन्त्री हुँदा मैले सचिवहरुलाई सबै ठेकेदारहरुलाई बाँडेर ठेक्का दिऊँ भन्दा मानेनन्’–उनले भने–‘यसमा त सेटिङ हुँदो रहेछ ! सचिवहरुले हुन्छ, हुन्छ भन्छन् । तर, गर्दैनन् ।’

उनले थपे–‘प्याकेजमा दिने भनेको त सेटिङ रहेछ ! त्यो कर्मचारीहरुलाई दूधभात खा’कोजस्तै रहेछ !’

उनले ठूला ठेकेदारहरुले एकाधिकार जमाएको भन्दै यसको सबै मिलेर अन्त्य गर्नुपर्ने बताए ।

राज्यको गलत ‘स्कुलिङ’ले व्यवसायी र राज्यबीच आरोप–प्रत्यारोप हुने गरेको दाबी उनले गरे ।

‘राज्यले व्यवसायीलाई र व्यवसायीले राज्यलाई आरोपित गरेको छ । यो गलत संस्कार हो । यो राज्यले नै चलाएको गलत स्कुल हो’–उनले भने ।

त्यो बेला ठूलो क्रान्तिकारी भइयो…

अध्यक्ष दाहालले अहिले देश निर्माण गर्ने बेला भएको भन्दै सबै दलहरुले समझदारीपूर्णरुपमा अघि बढ्नुपर्ने बताए ।

स्व. गिरिजाप्रसाद कोइरालाले आफूलाई भनेको कुरा सम्झँदै उनले भने–‘उहाँले पूराना कुरा छोडौं । नयाँ तरिकाले अघि बढौंभन्दा मैले मान्दिनँ थिएँ । त्यो बेला बहुत् ठूलो क्रान्तिकारी भइयो । अहिले त्यसैले दुःख पाइ’या छ ।’

अनावश्यक करवृद्धिका विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै उनले जनताले आवश्यक मात्रामा भने कर तिर्नैपर्ने बताए ।