Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द


7.9k
Shares

काठमाडाैं । गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएकाे छ । गोरखा हाजिर हुन हिँडेका प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारीकाे सरुवा रद्द भएकाे हाे ।

गृह मन्त्रालयले माघ ६ गते ४२ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने क्रममा कवारीकाे पनि सरुवा गरिएकाे थियाे

सरुवा सूची अनुसार कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो। तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो । त्यसपछि मात्र उहाँले थाहा पाए कि गोरखा सरुवा रद्द भएकाे छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कवारीकाे सरुवा रद्द भएकाे पुष्टि गर्नुभयाे । सरुवा के कारणले रद्द भएकाे आफूलाई थाहा नभएकाे बताउनु भयाे ।

गोरखा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको जिल्ला पनि हो । त्यसैले पनि गोरखामा उहाँको चासाे रहेकाे छ ।

गोरखामा यसअघिका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भइसकेको छ । त्यसैले अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी सम्हालिरहेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसदमा आफ्ना जिल्लामा ‘आफ्ना मान्छे पठाउन सिफारिस नगर्न’ भन्नु भएकाे थियाे ।

गृह मन्त्रालयले केही समयअगाडि मात्रै सिडिओहरूको सरूवासम्बन्धी कार्यविधि जारी गरेको थियो।

उक्त कार्यविधिमा जिल्लाको शान्ति सुरक्षा बिग्रिएमा, लामो समय सिडिओ कार्यालयमा अनुपस्थित रहेमा, स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएमा, विभागीय कारबाही सिफारिसमा परेमा, आचारण तथा अनुशासनसम्बन्धी प्रश्न उठेमा सरूवा गर्न सक्ने उल्लेख छ।

उक्त कार्यविधिअनुसार भएको पहिलो सरूवा नै गृहले आफैं रद्द गरिदिएको छ।