Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


२१ करोड आइरन चक्की किन्न ११ करोड बढी रकम


130
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको छ। बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रूपैयाँ बढी आर्थिक भार पर्ने भएको हो। सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ।

विभागको व्यवस्थापन महाशाखा अन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको दाबी गरे। ‘विभागले सबै प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको हो, विभागमा आएको प्रस्तावमध्ये सबैभन्दा कम दररेट प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता गरेर खरिद गर्न लागेका हौं,’ उनले भने। सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ बजेट छुट्ट्याएपछि असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो।

सो टेन्डर आह्वान गर्दा नै २-३ वटा कम्पनीलाई मात्रै हुने गरी मापदण्ड बनाइएको र सोही मापदण्ड अनुसार टेन्डर आह्वान गरिएकाले आइरन चक्कीको खरिद मूल्य ९० पैसा हुन गएको विभाग स्रोतले जनाएको छ। विभागका अनुसार अघिल्लो सकारमा रहेका मन्त्रीदेखि केही कर्मचारीको निर्देशनमा विभागको परिवार कल्याण महाशाखाले सो मापदण्ड बनाएको थियो। अर्थ मन्त्रालयले २० करोड बजेट पठाउने बित्तिकै स्वास्थ्य मन्त्रालयले असोज १३ गते प्रदेश र स्थानीय तहलाई आइरन चक्की खरिद नगर्नू भन्दै पत्राचार गरेको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।