३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधाकाे माग गर्दै कांग्रेसले दियाे संसद सचिवालयमा निवेदन


1.443k
Shares

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।

संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेकाे छ । यसै बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दावीसहित सेवा सुविधा माग गरेको हो ।

तर, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको पार्टी प्रतिपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ। संघीय संसद्का पदाधिकारीको सुविधा सम्बन्धी ऐन अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले विशिष्टिकृत सुविधा प्राप्त गर्दछ ।

प्रमुख प्रतिपक्षी दलको नेतालाई पारिश्रमिक बाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधा बापत मासिक २५ हजार ६ सय ८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धर सुविधा, मोविल, बिजुली धारा खर्च, दैनिक भ्रमण भत्ता र यात्रा बिमा लगायतका सुविधा प्राप्त हुन्छ ।