Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


खेल मैदानमा बिना जानकारी हेलिकप्टर अवतरण गराएपछि‍‍…


5.2k
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाको खेलमैदान फुटबल खेल चलिरहेको समयमा बिना जानकारी हेलिकप्टर अवतरण भएपछि तनावग्रस्त भएको छ।

फुटबल खेलको प्रतिस्पर्धा चलिरहेको बेलामा खेल मैदानमा लगेर एकाएक हेलिकप्टर ल्यान्ड गरेपछि हेलिकोप्टरका पाइलटमाथि स्थानीय आक्राेशित भएका छन् ।

बिहीबार अपराह्न स्याङ्जाको वालिङ नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कपमा दोस्रो सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो।

मैदानमा खेल चलिरहेकै बेलामा प्रभु हेलिकोप्टर ल्यान्ड गरिएपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि सामान्य हातपात भएको हो।

पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्यान्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका हुन्। खेलको पहिलो हाफ चलिरहँदा हेलिकोप्टर खेलमैदानमा झारिएको थियो। खेल चलिरहँदा मैदानमै हेलिकोप्टर बसेपछि स्थानीय युवाहरू आक्रोशित बनेका थिए।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ। पाइलट डङ्गोलले भने यात्रुले दबाब दिएर बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको बताएका छन्।

अनुमति बिना खेल मैदानमा झारिएको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनु भयाे । हेलिकोप्टर वालिङ ल्याउने युवालाई समेत कारबाही गरिने उनको भनाइ छ।