Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


राहदानी र परिचयपत्र: पहिचान कि कष्ट ?

निर्देशन र अनुगमन होइन, प्रक्रिया र व्यवस्थापन जरुरी

234
Shares

काठमाडौं । ‘प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सानस् बहुउपयोगी राष्ट्रिय परिचयपत्र हाम्रो पहिचान’ भन्ने नारा लिएर नेपाली नागरिकको पहिचान दिलाउन अभ्यासमा ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र र राहदानी लिन जुन कष्ट र असहजता झेल्नु परिरहेको छ त्यसको तीतो अनुभव २०औँ पटक अनलाइन आवेदन दिन प्रयास गर्नेहरूलाई थाहा छ। विद्युतीय राहदानी होस् या राष्ट्रिय परिचयपत्र, विद्युतीय माध्यमबाट नै आवेदन दिएर विद्युतीय माध्यमबाट नै प्रक्रिया पूरा गरेर आफ्नो व्यक्तिगत पहिचान हात पार्ने प्रक्रिया हो। राष्ट्रिय परिचयपत्र नभई राहदानी बन्दैन या नवीकरण हुँदैन।

राहदानी पहिले बनाएर म्याद सकिन लागेका या राहदानीको पेज सकिन लागेका सबैलाई राहदानी बनाउन राष्ट्रिय परिचयपत्र आवेदन दिएर नं. मात्र भने पनि लिएपछि मात्र राहदानीका लागि प्रक्रिया अघि बढ्छ। पंक्तिकार स्वयंको यो प्रक्रियाका लागि दिनभर राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने प्रयास जारी रह्यो। २०औँ पटक प्रयास गर्दा सर्भर एररको मेसेज त्यसपछि ओटिपी नं. प्राप्त गरेर मात्र अगाडिको प्रक्रिया अघि बढ्ने। दिनभर प्रयास गरेको ओटिपी नं. रातको १२ बजे हुरुरु २० वटा कै मेसेज आउँदा मध्यरातमा निद्रामा तर्सिनु शायद सामान्य हो।

राति उठेर त्यसलाई अघि बढाउन त सकिन्न नै। अर्को दिन फेरि यस्तै प्रयास नगरी सुख छैन। भाग्यवश कसैको तुरुन्तै सबै प्रक्रिया सहज भएका पनि होलान् तर अधिकांशको अनुभव यस्तै नै रहेछ। के गर्नु आफू त प्रविधिमा पोख्त छैन मैले त आफ्नै अनलाइन आवेदन दिन पनि सकिन भनेर हीनताबोध गर्ने शैक्षिक व्यक्तित्वको तितो अनुभव पनि सुन्नमा आयो। युवाहरू भन्छन्, जति पैसा लाग्छ तिरौँला बरु साइबरमा गएर आवेदन दिने हो, यो झन्झट बेहोर्न सकिन्न। चहिएन बरु राष्ट्रिय परिचयपत्र। तर, राहदानी त नवीकरण गर्नै छ, त्यसका लागि पनि नगरी सुख छैन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।