Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


जनप्रतिनिधिले रोके बालविवाह


52
Shares

काठमाडाैं । कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगनाथ गाउँपालिका घर भएकी १५ वर्षीया एक किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीया किशोरबीच हुन लागेको विवाह उनीहरूले रोकेका हुन् ।

यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानुनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिनुभयो ।

“स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो, “किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानुनी रुपमा विवाह गर्न अझै पाँच वर्ष बाँकी छ ।” बालबालिका हुँदासम्म विवाह नगराउने सर्तमा उनीहरूलाई छोडिएको बताउँदै अध्यक्ष दिनेशले भन्नुभयो, “पाँच वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने सर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौँ ।”

बालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले निरन्तर प्रयास गर्दा पाँच वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने गरेकामा हाल २३ प्रतिशतमा झरेको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले भन्नुभयो, “जिल्लामा अझै लुकीछिपी बालविवाह हुने गरेको छ ।”