
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा पहिलो पटक आँखा उपचार स्थापना गरिएको छ ।
याङवरक गाउँपालिका र नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा साेही गाउँपालिकाको केन्द्र थर्पुस्थित सामुदायिक स्वास्थ्य इकाईको भवनमा आइतबार आँखा उपचार केन्द्र संचालनमा आएको हो । आँखा उपचार केन्द्रको पाँचथरका संघीय सांसद वसन्त कुमार नेम्वाङले उद्घाटन गर्नुभएकाे थियाे । साेही उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेम्बाङले गाउँघरमै यो शिविर संचालन गर्न सफल भएकोमा आयोजक टिमलाई धन्यवाद समेत सांसद नेम्वाङले दिनुभयाे ।
केन्द्रको उद्घाटनसँगै दुई दिने निशुल्क आँखा शिविर समेत संचालन भएको छ । शिविरको पहिलो दिन २ सय ११ जना सेवाग्राही लाभान्वित भएका छन् । जसमध्ये १० जनाको मोतिया विन्दुको अप्रेशन भएको छ । २ सय १ जनाको आँखा चेकजाँच गरेर चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम पाण्डेले बताउनुभयो । गाउँपालिकाले ५ सय जनालाई सेवा दिने तथा जस मध्ये १ सय जनाको मोतिया विन्दुको अप्रेशन हुने अपेक्षा गरेको छ ।
यहाँका नागरिकहरू आँखाको उपचारका लागि तराईका सुविधा सम्पन्न अस्पतालमा जानुपर्ने बाध्यता रहेकाे थियाे । जसका कारण यस क्षेत्रका नागरिकहरुलाई समस्या हुने भएको हुँदा गाउँघरमै आँखा शिविर संचालन गरिएको साेही गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) ले बताउनुभयो । आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि पाँचथरको याङवरकसहित हिलिहाङ र फालेलुङ तथा ताप्लेजुङका सिरिजंगा र सिदिङमा गाउँपालिकाका बिरामी प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङ्बोले बताउनुभयो ।
साेही शिविर पश्चात पनि आँखा उपचार केन्द्रमा एक जना नेत्र सहायकसहित २ जना कर्मचारीले नियमित आँखा जाँच र उपचारको सेवा दिने याङवरक गाउँपालिकाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्