Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


दिवा खाजामा ‘घोटाला’: सबै विद्यार्थीले खान्नन्, बाँकी कसले खान्छ ?


2.3k
Shares

बाँके । बाँके राप्ती सोनारीस्थित सिद्धेश्वर मावि कक्षा ६ मा अध्ययनरत छात्रा अनिता विक (नाम परिवर्तन) ले विद्यालयमा पाक्ने ‘दिवा खाजा’ खाँदिनन्। ‘मिठो हुन्न अनि खान छाडें,’ उनले भनिन्। यो शैक्षिक सत्रमा कक्षा ६ मा भर्ना भएयता उनले खाजा खाएकी छैनन्। विद्यालयले पेस गर्ने खर्च विवरणमा उनीसहितले खाजा खाएको हिसाबकिताब भने समेटिन्छ। उनको कक्षामा ३३ विद्यार्थी छन्। कतिपयले खाजा नखाए पनि सबैले दिनहुँ खाजा खाएको खर्च विवरण विद्यालयले सम्बन्धित निकायमा पेस गर्ने गरेको छ।

सोही कक्षामा अध्ययनरत तारा कुमाल (नाम परिवर्तन) ले पनि ६ कक्षामा भर्ना भएयता दुई दिन मात्रै खाजा खाइन्। विद्यालयमा बन्ने खाजा नमिठो हुने भन्दै उनले पनि खान छाडेकी हुन्। ‘डढेको चना दिनुहुन्छ,’ उनले भनिन्, ‘मिठै हुन्न, खानै मन लाग्दैन ।’ दिवा खाजा नखानेहरू आफैं घरबाट चाउचाउ, बिस्कुट ल्याउँछन् वा विद्यालयकै क्यान्टिनमा किनेर खान्छन्। ‘विद्यालयमा पाक्ने खाजा मिठो नहुने भएकाले कि घरबाटै खाजा ल्याउँछौं कि आफ्नै पैसाले किनेर खान्छौं,’ कक्षा ६ मै पढ्ने छात्रा दीपिका ओली (नाम परिवर्तन) ले भनिन्, ‘अनि यहीँ क्यान्टिनमा चाउचाउ बिस्कुट किनेर खान्छु।’

विद्यालयले सरकारी नियमानुसार नै प्रतिदिन एकजना बराबर १५ रूपैयाँको दरले विद्यार्थीलाई खाजा खुवाइरहेको दाबी गरेको छ। तर सबै विद्यार्थीले नियमित रूपमा दिवा खाजा खाँदैनन्। विद्यालयले भने सबै विद्यार्थीले दिनहुँ खाजा खाएको खर्च विवरण पेस गरिरहेको हुन्छ। बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा खुवाउने नीति सरकारले लिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।