Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’


520
Shares

काठमाडौं । राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो ।

जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए । सोहीबमोजिम मन्त्रालयले त्यही दिन विज्ञप्ति जारी गरेर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई निर्देशन दियो । शुक्रबारसम्म १०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता भइसकेको जनाइएको छ ।

त्यस्तै गृहमन्त्री लामिछानेको निर्देशनमा बिहीबार मन्त्रालयका प्रवक्ता एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले सुरक्षा निकायका पदाधिकारीहरूलाई आफूखुसी कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेट गर्न रोक लगाउने आशयको विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा सुरक्षा निकायका कतिपय पदाधिकारी कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको उल्लेख गर्दै भनिएको छ, ‘कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजनसाथ विभागीय स्वीकृति लिएर मात्र गर्नू-गराउनू ।’ मन्त्रालयको निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न सम्बन्धित संगठन प्रमुखले गर्नुपर्र्ने विज्ञप्तिमा उल्लेख छ । निर्देशनविपरीत कार्य गरेको पाइए अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा पनि विज्ञप्तिमा समेटिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।